पोखरा :
नेपालमा जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा देखिन थालेको भन्दै हिमाली क्षेत्रको संरक्षणका लागि साझा प्रयास आवश्यक रहेको निष्कर्षसहित पोखरामा दुईदिने अन्तर्राष्ट्रिय स्तरको सम्मेलन सम्पन्न भएको छ। “माछापुच्छ्रे संवाद–२०८३” नाम दिइएको सम्मेलनले १५ बुँदे घोषणा पत्र जारी गर्दै हिमाल संरक्षण, जलवायु न्याय र दिगो विकासका विषयमा संयुक्त प्रतिबद्धता व्यक्त गरेको हो।

गण्डकी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका तथा सेभ द हिमालय फस्टको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न गरिएको हो। कार्यक्रममा हिमाल क्षेत्रमा देखिएको तीव्र परिवर्तन, हिमनदी पग्लिने क्रम, बाढी–पहिरोको जोखिम, पर्यटन र स्थानीय जनजीवनमा परेको प्रभावबारे गम्भीर छलफल गरिएको थियो।
आयोजकमध्ये सेभ द हिमालय फस्टका अध्यक्ष तथा संविधानसभा सदस्य डिबी नेपालीले सम्मेलन उपलब्धिमूलक भएको बताउँदै हिमाल जोगाउने अभियानलाई अब नीतिगत तहसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार सम्मेलनमा प्रस्तुत कार्यपत्रहरूले अन्नपूर्ण हिमश्रृंखला र गण्डकी क्षेत्रका हिमाली भूगोलमा आएको परिवर्तनसँगै स्थानीय समुदायले भोगिरहेका चुनौती उजागर गरेका थिए।
सम्मेलनको पहिलो चरण पोखरामा सञ्चालन गरिएको थियो भने दोस्रो तथा समापन सत्र कास्कीको माछापुच्छ्रे गाउँपालिका–स्थित भुर्जुङखोलामा सम्पन्न भएको थियो। सहभागीहरूले २०६९ साल चैत २३ गते आएको विनाशकारी सेती बाढीबाट प्रभावित खारपानी क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका थिए।
स्थानीयवासीहरूले बाढीपछि सो क्षेत्रमा रहेको प्रसिद्ध तातोपानी कुण्ड लोप हुने अवस्थामा पुगेको गुनासो गरेका छन्। कुनै समय पर्यटनको मुख्य आकर्षण मानिएको उक्त कुण्ड संरक्षणको अभावमा संकटमा परेको भन्दै सहभागीहरूले तत्काल संरक्षण योजना आवश्यक रहेको बताएका थिए। 
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल जलवायु परिवर्तनको मुख्य कारक नभए पनि यसको सबैभन्दा बढी असर भोगिरहेको उल्लेख गर्नुभयो। उहाँले विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन नियन्त्रण र जलवायु वित्तमा अझ जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री नन्द गुरुङले आफू हिमाली क्षेत्रकै बासिन्दा भएकाले जलवायु परिवर्तनको प्रभाव नजिकबाट अनुभव गरेको बताउनुभयो। प्रदेशसभा सदस्य गणेशमान गुरुङले हिमाल संरक्षणलाई संस्कृति संरक्षणसँग जोड्दै गुरुङ समुदायको जीवनशैली र पहिचान हिमालसँग प्रत्यक्ष सम्बन्धित रहेको धारणा राख्नुभयो।

सम्मेलनमा सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले २०६९ सालको सेती बाढीका बेला आफूले देखेका उद्धारका कठिन अनुभव प्रस्तुत गर्नुभएको थियो। उक्त विपद्मा ५८ जनाको ज्यान गएको तथा अझै केही व्यक्ति बेपत्ता रहेको तथ्य प्रस्तुत गरिएको थियो। सहभागीहरूले हिमताल फुट्ने जोखिम र नदी तटीय क्षेत्रमा बढ्दो असुरक्षाबारे राज्यले दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड दिएका थिए। 

वनविज्ञान अध्ययन संस्थान पोखरा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पानी सदुपयोग फाउण्डेशन तथा द एशिया फाउण्डेशन सहयोगी संस्थाका रूपमा सम्मेलनमा सहभागी रहेका थिए। सम्मेलनअन्तर्गत “माछापुच्छ्रे हिमाल संरक्षणका लागि संवाद” कार्यक्रम समेत आयोजना गरिएको थियो।













