धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रतिनिधि सभा सदस्य केपी खनालले ऐलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएको छ । कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिकै घर छ । तर, उक्त घर ऐलानी जग्गामा बनाइएको भन्दै सामाजिक सञ्जालमा खनालविरुद्ध प्रश्न उठेको छ । सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा सार्वजनिक तथा अतिक्रमित जग्गामा बनाइएका घर, टहरा लगायतका संरचना डोजर प्रयोग गरेर भत्काइरहेको छ ।रास्वपाकै सांसद खनालले लालपूर्जा नभएको ऐलानी तथा सार्वजनिक जग्गामा घर बनाएको भन्दै डोजर प्रयोग गरेर भत्काउनुपर्ने आवाज उठिरहेको छ ।तर, खनालको सचिवालयले भने देशभर अतिक्रमित संरचना हटाइरहेका बेला राजनीतिक प्रतिशोध राखेर उनको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।
खनालको सचिवालयका सदस्य हर्क पुनले राजनीतिक प्रतिशोध राखेर सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजिएको दाबी गरे । ‘राजनीतिक प्रतिशोध र बदनियत राखेर माननीय ज्यूको बदनाम गर्ने काम भइरहेको छ । देशभर सार्वजनिक जग्गा खाली गराउने अभियान चलेका यो पनि भत्काउनुपर्छ भन्ने होला,’ पुनले भने, ‘तर उहाँको आमा–बुवाले भारतमा रोजगारी गरेर बनाएको घरमा माननीय ज्यू बस्न नपाउने भन्ने हुन्छ र ?
यद्यपि खनालको परिवार बस्ने घर ऐलानी जग्गामा निर्माण गरिएको कुरा भने साँचो भएको उनी बताउँछन् । भुईं तलासहित तीन तलाको उक्त घर निर्माणकै क्रममा छ ।लम्कीचुहा नगरपालिका क्षेत्रमा धेरैजसो स्थानीय ऐलानी जग्गामै बसोबास गरिरहेको बताउँदै पुनले खनालको परिवारले समेत लालपुर्जाका लागि फारम भएको बताए । खनालले भूमि आयोगबाट जग्गाको नामपास गर्दै प्रक्रिया पूरा गरे पनि लालपूर्जा भने प्राप्त गरेका छैनन् ।सरकारले पुर्ब मन्त्री समेतको घर भत्काईरहदा केपी खनालको घरमा डोजर चलाउनुपर्ने सामाजिक सञ्जालमा व्यापक प्रश्न उठिरहेको छ । तर केपी खनालको सचिवालयले घर भत्काउने बारे मौन बसेको छ ।
















